को बन्ला मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री ?


काठमाडौं । मधेश प्रदेशमा सात राजनीतिक दलबीच गठबन्धन हुने भएको छ । सत्तारुढ एमाले भने एक्लिएको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार नभई ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्दै शपथ लिएपछि एमाले एक्लिएको हो । जसकारण अन्य दलहरू एक ठाउँमा उभिएका छन् ।

एमालेविरुद्ध एक भएका सातदलीय गठबन्धनभित्र पनि मुख्यमन्त्री कसलाई बनाउने विषयमा विवाद कायमै छ । लोसपाले जितेन्द्र सोनललाई नै मुख्यमन्त्री बनाउने अडान लिए पनि उनीप्रति अन्य दलहरू सकारात्मक देखिएका छैनन् । नेपाली कांग्रेस भने पार्टीका संसदीय दलका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने अडानमा छ । जसपा नेपालले सभामुख लिने सर्तमा कांग्रेसलाई मुख्यमन्त्रीमा सहयोग गर्न लागेको हो ।

लोसपाका संसदीय दलका नेता जयनुल राइनले भने सोनललाई नै मुख्यमन्त्री बनाउनुपर्ने अडान दोहराएका छन् । सातदलीय गठबन्धनका नेताहरुले आआफ्नो दाबी प्रस्तुत गरे पनि सहमतिमै मुख्यमन्त्रीको उम्मेदवार तय गरिने बताउँदै आएका छन् । प्रदेश सभामा मुख्यमन्त्री सरोजकुमार यादववले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले प्रदेश सभालाई पत्र लेखेको जनाएका छन् । सात दलमा ७६ सांसद भएकाले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना छैन ।