मधेशका मुख्यमन्त्रीको शपथ आज


काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शुक्रबार सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले आज शपथ लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ । मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी गरेका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

६ वटा प्रदेशमा एमाले र कांग्रेस सत्तामा छन् । तर मधेश प्रदेशमा भने एमालेबाहेकका दल सत्तामा हुनेछन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्य प्रदेशमा पनि एमालेलाई बाहिर राख्ने अभियान थालिने बताएका छन् । शनिबार जनकपुरधाममा नेकपाको सन्देश सभामा उनले यस्तो चेतावनी दिएका हुन् ।