काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आर्यघाट पुग्नेबेलासम्म प्रमुख दलका बुढा नेताले पद नछाडेको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले ललितपुरमा आयोजना गरेको ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा युवाहरूको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए ।
उनले राजनीतिलाई नीतिहरूको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरूको उपस्थिति अनिवार्य रहेको धारणा राखे । घाटमा जानेबेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
खरेलले युवालाई कार्यकर्ता र दास मात्र मान्ने राजनीतिक प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । ‘वर्षौंसम्म एउटै व्यक्तिले दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित हुँदैन । अब युवालाई केवल कार्यकर्ता र दासको रूपमा हेर्ने प्रवृत्ति समाप्त गर्नुपर्छ,’ उनले भने । मन्त्री खरेलले दलहरूमा एकै व्यक्तिको प्रभाव हाबी हुने र युवालाई निरुत्साहित गर्ने प्रवृत्तिका बारेमा आलोचना गरे । उनले युवाले आवाज उठाएर आफ्ना अधिकारको रक्षा गर्नुपर्ने जोड दिए। ‘यदि मागेर कुरा नहुने हो भने खोसेर लिनुपर्ने समय आएको छ,’ उनले भने।














प्रतिक्रिया