काठमाडौं । एमालेमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध भएका हुन् ।
एमाले महाधिवेशन निर्वाचन समितिकाअनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल छन् । एमालेको विधानमा प्रदेशबाट महिला केन्द्रीय सदस्य तीनजना निर्वाचित हुने प्रावधान छ । लुम्बिनीबाट तीनजनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । मधेशी कलस्टरतर्फ दुईजना युवा निर्वाचित हुने भए पनि एकजनाको मात्रै उम्मेदवारी परेको हो । समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्वाचित भएकी छन् भने समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सीता लामा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्षमुनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।
एमाले अनुशासन आयोगको अध्यक्षमा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोगको अध्यक्षमा डा।पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका हुन् ।
२२ सय ६२ जना निर्णायक प्रतिनिधिहरूले विद्युतीय भोटिङ मेसिनमा थिच्ने बटनले ६६५ जना उम्मेदवारहरूको राजनीतिक भविष्यको फैसला गर्नेछ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम प्रारम्भिक विवरण अनुसार पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगका पदाधिकारी गरी कुल ६६५ जना नेताहरू चुनावी मैदानमा होमिएका छन्।














प्रतिक्रिया