काठमाडौं । मौसम खराबीका कारण रास्वपा सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै भैरहवा जान सकेनन् । उनी काठमाडौंबाट भरतपुर हवाई मार्ग र त्यहाँबाट स्थलमार्ग हुँदै रुपन्देही जाने भएका छन् ।
लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौंमै रोकिएका थिए । बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।
रुपन्देही पुगेर उनी जिल्ला अदालतमा उपस्थित हुनेछन् ।अदालतको आदेशअनुसार धरौटी राख्ने रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले उनी आजै छुट्ने रास्वपा नेताहरुले बताएका छन् । जेलबाट छुटेपछि सिधैं चितवन जाने कार्यक्रम छ ।
शनिबार चितवनको चौबिसकोटीमा कार्यक्रम राखिएको छ । लामिछानेले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्ने भएका छन् । लामिछाने त्यसपछि मात्रै काठमाडौँ फर्किनेछन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त गर्न उच्च अदालतमा निवेदन दिएका थिए । त्यसमा सुनुवाइ गर्दै उच्च अदालतको बुटवल इजलासले लामिछानेको भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएर रिहा गर्न आदेश दिएको हो ।














प्रतिक्रिया