काठमाडौंमा आज यस वर्षकै चिसो, न्यूनतम तापक्रम ४.९ डिग्री


काठमाडौं । केही दिनयता तापक्रम घट्दै जाँदा चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जनाएको छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको छ । जुन काठमाडौंमा यस वर्षको मापनमा कम तापक्रम हो ।

काठमाडौंको न्यूनतम तापक्रम सोमबार ६.८, आइतबार ६ र शनिबार ५.५ डिग्री थियो । गत मंसिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो ।

मंगलबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम सोमबार –१ र आइतबार –२.३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५.७, ओखलढुंगाको ७.२, दिपायल र घोराहीको समान ७.८, पोखराको ८.८, ताप्लेजुङको ९.५, डडेलधुराको ९.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।