चुनावअघि महाधिवेशन नगर्ने अडानमा देउवा, के गर्लान् गगन–विश्व ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअगाडि महाधिवेशन नगर्ने अडान राखेका छन् । फागुनको चुनावअघि महाधिवेशन गर्दा त्यसको असर निर्वाचनमा पर्न सक्ने उनको दाबी छ । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए पनि बाधक भने नबन्ने उनले बताए ।

मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए । ‘निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’ देउवाले विधानतः आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन मात्र गर्ने बताए ।

देउवाले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने बताए । विशेष महाधिवेशनको विधि प्रक्रियाले झगडा निम्तिने र समय लाग्ने उनको दाबी छ । तर कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २८ गतेसम्म महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताइसकेका छन् । देउवाको नयाँ अभिव्यक्तिले कांग्रेसमा फेरि किचलो देखिएको छ ।