काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनकै कारण पार्टी फुट्छ भनेर कल्पनासमेत नगर्न आग्रह गरेका छन् । शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी नफुट्ने दाबी गरे ।
‘विशेष महाधिवेशनकै कारण कांग्रेस फुट्छ भनेर कसैले सोचेको छ भने त्यस्तो कल्पना नगर्न म अनुरोध गर्छु । सिंगो समाज र देशलाई जुटाउन लागिरहेको बेला कांग्रेस आफैं फुट्छ भनेर कल्पनासमेत नगर्नुहोला । मैले भनेको कुरा लेखेर रेकर्ड गरेर राख्नुहोला,’ उनले भने ।
शर्माले विशेष महाधिवेशनकै लागि भृकुटीमण्डपको हल बुकिङ भएको छ नि भन्ने पत्रकारको प्रश्नमा भने, ‘बुकिङ गर्दा के नै फरक पर्छ र ? हदमै कार्यक्रम हुने त हो ।’ कांग्रेस महामन्त्रीद्वय गगन थापा र शर्माले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गर्ने निर्णय गरेका छन् । बिहीबार दुवै महामन्त्रीले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गर्दै पुस २७ र २८ मा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
थापा र शर्माको यो निर्णयसँगै कांग्रेस विवाद उत्कर्षमा पुगेको हो । कांग्रेसको संस्थापन पक्षले भने अब चुनावअघि नियमित महाधिवेशनको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको संस्थापन पक्षका नेताहरुले यस्तो निर्णय गरेका हुन् । यसमा डा.शेखर कोइरालाको पनि समर्थन रहेको देखिएको छ । कांग्रेसमा गगन थापा सभापति बन्लान् भन्ने भय शेखरमा देखिएको छ ।














प्रतिक्रिया