एकताबद्ध भएर अघि बढ्न गगन थापाको अपील, कांग्रेसमा अब गुटबन्दी नहुने दाबी


काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भइसकेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपील गरेका छन्।

माघ २ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको स्पष्ट गर्दै निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेकोमा आभार व्यक्त गरेका छन्। उनले उक्त निर्णयलाई पार्टीभित्र सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको सामूहिक प्रयासको प्रतिफलको रूपमा व्याख्या गरेका छन्।

थापाले विज्ञप्तिमा भनेका छन्, “नेपाली कांग्रेस पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने पार्टी हो भन्ने कुरा स्थापित भएको छ। पार्टी अब आफ्नो मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको छ।”

विशेष महाधिवेशनमा सहभागी तथा असहमत दुवै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै उनले जय–पराजयको दृष्टिकोणबाट होइन, विधि र विधानको विजयको रूपमा निर्णयलाई लिनुपर्ने उल्लेख गरेका छन्। साथै, पार्टी अब नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढिसकेको र रिफर्मको यात्रा सुरु भइसकेको उनको भनाइ छ।

सभापति थापाले आशन्न निर्वाचनमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीका सबै तहका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

विज्ञप्तिमा उनले अब पार्टीभित्र कुनै गुट नरहने र गुटगत भागबण्डा नहुने दाबी गर्दै, जिम्मेवारी फरक भए पनि भुइँतहका सदस्य र सभापतिको हैसियत समान हुने बताएका छन्। पार्टीको निर्णयको आधार आम सदस्यको चाहना हुने उनको भनाइ छ।

नेपाली कांग्रेसलाई आम मानिसको सार्वजनिक पुँजीको रूपमा व्याख्या गर्दै थापाले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना र समीक्षा गरिएको उल्लेख गरेका छन्। अब कांग्रेस समयानुकूल थप संस्थागत हुँदै मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उनले सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य हुने र संविधानको रक्षा गर्दै कांग्रेसले समुन्नतिको नेतृत्व गर्ने बताए।

अन्त्यमा सभापति थापाले सम्पूर्ण शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजप्रति सम्मान व्यक्त गरेका छन्। साथै, समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन सम्पूर्ण शुभेच्छुक, समर्थक र आम जनसमुदायलाई पुनः अपील गरेका छन्।