राष्ट्रिय झण्डा ओढेर मत माग्ने कार्य तत्काल रोक्न भीमार्जुन आचार्यको सरकारसँग माग


काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय झण्डा ओढेर भोट माग्ने कार्य बर्जित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । फागुन २१ गते हुने आमनिर्वाचनमा भाग लिन दलका उम्मेदवारहरूले राष्ट्रिय झण्डा ओढेर भोट मागेको तस्बिर र भिडियो भाइरल बनेपछि आचार्यले यसबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

‘राष्ट्रिय झण्डाको धेरै नै दुररुपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओढेने कपडा होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस्,’ उनले भनेका छन् ।

पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर भोट माग्ने प्रवत्ति बढेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौंका मेयरका उम्मेदवार बालेन्द्र साह बालेनले राष्ट्रिय झण्डाको दुरुपयोग गरेका थिए । उनले राष्ट्रिय झण्डा ओढेर मत माग्दै हिँडेका थिए । उनी मेयरमा निर्वाचित भएपछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले यसलाई फलो गरे । रास्वपा राजनीतिक दल नै हो ।

गत भदौको जेनजी आन्दोलनमा राष्ट्रिय झण्डाको धेरै नै दुररुपयोग भयो । राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाइयो । सर्वोच्च अदालत, राष्ट्रपति भवन र संसदसमेत जलाइयो । अहिले फेरि राष्ट्रिय झण्डा ओढेर रास्वपालगायतका उम्मेदवारले भोट मागिरहेका छन् । त्यसैले जनस्तरमा यो प्रवृत्तिमा रोक लगाउनुपर्ने आवाज उठेको हो ।