पदभार ग्रहण गरेपछि विश्वप्रकाशलाई अंगालो हाल्दै भावुक बने गगन


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कार्यालय सानेपामा पदबहाली गरेका छन् । शुक्रबार दिउँसो २ बजे उनले औपचारिक रूपमा सभापतिको कार्यभार सुरु गरेका हुन् ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भए पनि नौ दिनपछि थापा पार्टी कार्यालय पुगेका हुन् । यसअघि दुईवटा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय बाहिर बसेको थियो । आजै बस्ने केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने छ ।

सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा सँगसँगै पार्टी कार्यालय पुगेका थिए । नेता कार्यकर्ता र समर्थकको ठूलो भीडलाई छिचोल्दै पार्टी कार्यालय प्रवेश गरेका थापाले सभापतिको पदभार ग्रहण गर्नुअघि पूजाअर्चना गरेका थिए । त्यसपछि उनी पार्टी सभापतिको कुर्सीमा बसे । र, निर्णय पुस्तिकामा हस्ताक्षर गरे । सभापतिको पदभार ग्रहण गरेलगत्तै उपसभापति शर्माले थापालाई माला लगाइदिए । त्यसपछि गगन थापाले शर्मालाई अंगालो हाले अनि भावुक बने । त्यो दृश्य निकै भावुक थियो ।

आफूलाई सभापतिको कुर्सीमा बसाउन विश्वप्र्रकाश शर्माले खेलेको भूमिका, साथ, समर्थन र त्याग सम्झँदै गगनले अंगालो हालेका हुन् । गगनले अंगालो हाल्दा शर्मा पनि भावुक देखिए । उनी मुस्कुराइरहे ।