गगनलाई सर्लाहीमा भव्य स्वागत


काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगन थापा सोमबार सर्लाही पुगेका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका सभापति थापा सोमबार बिहान सिमरा हुँदै सर्लाही पुगेका हुन् । काठमाडौँबाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्दै आइरहेका नेता थापा सभापति भएपछि मधेश झरेका हुन् । सिमरा विमानस्थलमा कांग्रेस सभापति थापालाई स्वागत गर्न हजारौंको भीड लागेको थियो ।

सभापति थापालाई सर्लाहीको प्रवेश गर्ने स्थान बागमती पुलमा सर्लाहीका नेता, कार्यकर्ता तथा शुभेच्छुकले भव्य स्वागत गरेका थिए । सभापति भएपछिको पहिलो मधेश भ्रमणमा थापाले न्यायो अतिथ्यता पाए । काठमाडौंमा जन्मिएर हुर्किएका थापाले आफ्ना बुवाआमा पहाडबाट आएको र आफूले पहाड र सहर दुवैलाई बुझ्ने अवसर पाएको उल्लेख गरे । तर, राष्ट्रिय नेता बन्न पार्टी नेतृत्व मात्रै पर्याप्त नहुने उनको धारणा छ ।

‘मैले बुझेको राष्ट्रिय नेता भनेको कुनै राष्ट्रिय पार्टीको नेतृत्व गर्ने व्यक्ति मात्र होइन, सिङ्गो राष्ट्रको भावना आफूभित्र समेट्न सक्ने व्यक्ति हो’, थापाले स्पष्ट पारे ।उनले मधेशसँग सतही वा औपचारिक सम्बन्ध मात्र जोडेर नहुने भन्दै त्यहाँको समाज, संस्कृति र जनताबीच पुग्नुपर्ने आवश्यकता औंल्याए । ‘मधेशसँग मुखको सम्बन्ध मात्र जोडेर हुँदैन, त्यहाँको भएर त्यहाँकै जनतासामु जानुपर्छ’, उनले भने ।

नेपाली कांग्रेसको सदस्यका रूपमा पार्टीको इतिहास र मधेशको योगदानलाई स्मरण गर्दै थापाले मधेशले कांग्रेस निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । ‘कांग्रेसको जन्म र विकासमा मधेशको ठूलो योगदान छ । त्यसैले जोखिम लिएर भए पनि आफूलाई मधेशमा समर्पित गरे मात्रै राष्ट्रिय नेता बन्न सकिन्छ भन्ने लगेर मैले सर्लाहीमा उम्मेदवारी दिएको हुँ’, उनको भनाइ थियो ।

सर्लाही – ४ बाट उम्मेदवारी दिनुको उद्देश्य सिङ्गो मधेशलाई नजिकबाट चिन्ने र बुझ्ने रहेको उनले बताए । काठमाडौँको कमलपोखरीमा छठ पूजाको सुरुआत आफ्नो नेतृत्वमा गरेको जानकारी दिदै त्यस्ता गतिविधिमार्फत मधेशसँग जोडिन सकिने भए पनि प्रत्यक्ष रूपमा मधेशमै गएर त्यहाँको समाज, संस्कृति र जनजीवन बुझ्न चाहेको थापाले उल्लेख गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट गरिरहेका छन् । उनले आगामी शुक्रबारसम्म सर्लाही जिल्लाको विभिन्न क्षेत्रमा मतदातासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । उनले सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि स्थानीय हर्षित भएका छन् । क्षेत्रको विकास हुनुका साथै सभापति थापाका कारण शिक्षा र स्वास्थ्य प्रभावकारी हुने, रोजगारीको अवसर सिर्जना हुनेमा क्षेत्रवासी विश्वस्त देखिएका छन् ।