सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टी त्याग गरी कांग्रेस प्रवेश गर्ने लहर चलेको छ ।
थापालाई सघाउन भन्दै सर्लाही ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् । बहुजन पार्टीबाट सर्लाही ४ (ख) प्रदेशका उम्मेदवार कुष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति थापाले बुधबार पार्टी प्रवेश गराए ।
कुशवाहसहित गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का वडाध्यक्ष अजयप्रसाद शाह, ५ का वडाध्यक्ष प्रकाश गुप्ता र ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूले थापालाई सहयोग गर्ने प्रतिवद्धता जनाए । वडाध्यक्ष महतो र शाह नेपाली कम्युनिष्ट पार्टी, गुप्ता जसपा, पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।
त्यस्तै, बसबरियाका जसपा नेता मुकेश यादव, वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउन कांग्रेस प्रवेश गरेको उनीहरुले बताए । यसअघि सर्लाही ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।












प्रतिक्रिया