धादिङ । पुराना र युवा उम्मेदवारबीचको प्रतिस्पर्धाले यतिबेला धादिङ १ को चुनावी माहोल तातेको छ । धादिङ १ मा धुनिबेसी नगरपालिकासहित बेनीघाट रोराङ, सिद्धलेक, गजुरी, गल्छी र थाक्रे गाउँपालिका पर्दछन् ।
एमालेको पकड रहेका केही क्षेत्रमा कांग्रेस र नेकपा तथा रास्वपाका उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रमा एमालेबाट भूमि त्रिपाठी, कांग्रेसबाट कृष्ण रिजाल, नेकपाबाट राजेन्द्र पाण्डे, रास्वपाबाट आशिका तामाङ, राप्रपाका गीताप्रसाद आचार्य, नेमकिपाकी चन्द्रादेवी वासुकला र अन्य स्वतन्त्र उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।
धादिङ १ मा चार दशकभन्दा बढी समयदेखि दबदबा राख्दै आएका नेकपाका नेता पाण्डे र एमालेका भूमिप्रसाद त्रिपाठी पुनः आमनेसामने भएका छन् । २०४३ सालदेखि सो क्षेत्रको चुनावी राजनीतिमा अभ्यस्त पाण्डे बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् । अनुभवी र राजनीतिका चतुर खेलाडी मानिने पाण्डेले गत २०७९ को निर्वाचनमा त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका थिए ।
२०७४ को निर्वाचनमा धादिङ १ बाटै प्रतिनिधिसभामा विजयी भएका त्रिपाठीको यसपटकको मुख्य चुनौती आफ्नै राजनीतिक गुरु पाण्डेलाई रोक्नु र पार्टीको संगठनलाई सुरक्षित राख्नु हो ।
विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका नेतालाई नयाँ उत्साहका साथ चुनावी मैदानमा उत्रिएका युवा नेताले टक्कर दिने निश्चित देखिएको हो । पुराना प्रतिस्पर्धी बिचको भिडन्तमा कांग्रेसका कृष्ण रिजाल र रास्वपाकी तामाङको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनलाई रोचक बनाइदिएको छ ।
धादिङ १ का उम्मेदवार रिजाल तरुण दलका केन्द्रीय सदस्य, कांग्रेसका पूर्व क्षेत्रीय सभापति तथा महासमिति सदस्य रहिसकेका नेता हुन्। जेनजी आन्दोलनपछिको अवस्थामा धादिङ १ मा चर्चामा रहेका पात्र हुन् रिजाल । उनी पहिलोपटक संसदीय निर्वाचनमा उत्रिए पनि बौद्धिक र शालीन छवि बनाएकाले उनको उम्मेदवारीले पुराना नेताहरूलाई दबाबमा पारेको देखिन्छ ।
रिजालले आफ्नो प्रतिस्पर्धा अरू उम्मेदवारसँग भन्दा पनि स्वयम् आफूसँग भएको बताउँदै नागरिकको मत जित्नेमा विश्वास रहेको बताउँदै आएका छन् । उनलाई यस क्षेत्रमा कांग्रेसको बलियो संगठन र नयाँ युवा अनुहार खोज्ने मतदाताको भर छ ।












प्रतिक्रिया