अघिल्लोपटक सोविता गौतमले जितेको काठमाडौँ २ मा कसले मार्ला बाजी ?


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ २ मा चुनावी चहलपहल बढेको छ । औपचारिक प्रचारप्रसार फागुन ४ गतेदेखि सुरु हुने भएपनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन् ।

यो निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार छन् । राजनीतिक दलका १६ र १२ जना स्वतन्त्र छन् ।एमालेबाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कवीर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसी, श्रम संस्कृति पार्टीका मुकुन्द कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल उम्मेदवार छन् । यहाँ २२ जना पुरुष र ६ जना महिला छन् । दलबाट तीन र तीनजना महिला स्वतन्त्र उम्मेदवार छन् ।

यो क्षेत्रमा पुराना राजनीतिक दल र तिनका उम्मेदवारको नयाँ पार्टीका प्रत्याशीबीच प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचनलाई आफूहरुले केवल दलगत प्रतिस्पर्धा मात्र नभई विश्वासको परीक्षाका रुपमा लिएको उम्मेदवारहरुले बताएका छन् ।

अधिकांश उम्मेदवारका ‘एजेन्डा’ रोजगारी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रण छन् । उनीहरुले कानुन निर्माणभन्दा पनि मतदाताका दैनिकीसँग जोडिएका समस्या सम्बोधनको वाचा गरिरहेका छन् । कोटेश्वरको ट्राफिक जाम, खानेपानी समस्या, मनोहरा कोरिडोर व्यवस्थापन र रोजगारीका अवसर सृजनालाई प्रायः सबै उम्मेदवारले चुनावी एजेन्डा बनाएका छन् ।

देशले संघीय शासन पद्धति अंगीकार गरे पनि मतदाताले सडक, पुल, ढल, खानेपानी समस्या सांसदहरुबाटै समाधान हुनुपर्ने अपेक्षा गरेका छन् । संघीयता कार्यान्वयन भइसकेपछि स्थानीय, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने जनताका आधारभूत आवश्यकता कानुन बनाउन संघीय संसद्मा प्रतिनिधित्व गर्नेहरुको थाप्लोमा मतदाताले हाल्न नहुने उम्मेदवारहरुको कथन छ ।
अघिल्लो निर्वाचनमा रास्वपाकी सोविता गौतम विजयी भएकी थिइन् । तर यसपटक उनी चितवन ३ पुगेकी छन् । काठमाडौं २ का मतदाता रिसाएको थाहा पाएपछि उनी चितवन पुगेकी हुन् । सोविताले एमाले र राप्रपाका उम्मेदवारभन्दा तीन हजार बढी मत ल्याएर जितेकी थिइन् । यसपटक भने कसले जित्ने भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । कांग्रेस, एमाले, रास्वपा र राप्रपामध्ये एकले चुनाव जित्ने प्रक्षेपण गरिएको छ ।