काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन्। सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ।’ थापाले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेको पछि खुसी लागेको बताए।

उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए। ‘सधैं अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् ? तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुसी भएको छु। उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु।’ सभापति थापाले अहिले मधेशको जग बलियो बनाउन शिक्षा जरूरी रहेको, तर त्यसअघि भोटमार्फत् युवाहरूले जिताउनुपर्ने बताए।
‘अहिले सर्लाही लगायतका मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य समस्या हो। यहाँको जग नै बलियो बनाउनु छ। त्यसका लागि युवाहरूले एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा। तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु,’ उनले भने ।

थापाले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे। देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर प्रोजेक्ट गभर्मेन्ट तयार भएको उनले जानकारी दिए ।












प्रतिक्रिया