ओलीलाई झापा ५ मै अल्झाएर बालेन रोड शो मार्फत घन्टी बजाउँदै सहर सहर


काठमाडौं । एमाले अध्यक्ष केपी ओली आइतबार फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा ५ जाने भएका छन् । पछिल्लो समय बढ्दै गएको राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका चुनौतीका कारण ओली आफ्नै क्षेत्रमा बढी केन्द्रित भएका हुन् । यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका छन् ।

आजको कार्यक्रमअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनेछन् । त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

उनी फागुन ६ गतेसम्म झापामै बस्ने छन् । यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्नेछन् । हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ । ओली यसअघि माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौँ फर्केका थिए ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन भिड्न आएपछि ओली आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर खुलेर जान सकेका छैनन् । विगतमा ओली निकै कम आफ्नो निर्वाचन क्षेत्रमा देखिन्थे । पूर्वदेखि पश्चिमसम्म चुनावी सभामा भाषण गर्न जान्थे । तर अहिले भने उनी साँघुरिएका छन् । राजनीति विश्लेषकहरूले ओलीले बल्ल राजनीति सिकेको टिप्पणी गर्ने गरेका छन् ।

लोकप्रियतावादले कतिसम्म चुनौती दिँदो रहेछ भन्ने ओलीले बल्ल बुझेका छन् । विगतमा उनले जिल्ला जिल्ला पुगेर विपक्षी दल र तिनका नेतालाई गाली गर्थे । खुइल्याउँथे । तर अहिले ओली मतदातासँगै देखिने गरेका छन् । यसले गर्दा आसन्न निर्वाचनको परिणाममा धेरै उलटफेर ल्याउन सक्ने अनुमान पनि गर्न थालिएको छ ।

रास्वपा उम्मेदवार बालेन भने देशभर रोड शो गरेर बसेका छन् । उनलाई हेर्न लाउनेको सडकमा भिड उर्लिएको छ । ओलीलाई निर्वाचन केन्द्रमा सीमित गराएर बालेन घन्टी बजाउँदै हिँडेपछि ओलीले बल्ल राजनीति के हो भन्ने बुझ्न थालेको सर्वसाधारणले बताउन थालेका छन् ।