रौतहटको चन्द्रपुरमा बालेन हेर्न आएका वृद्धको भिडमै सिक्री लुटियो


काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन अहिले चुनावी रोड शोमा छन् । उनले एकचरण पूर्वदेखि पश्चिमसम्म रोड शो गरिसकेका छन् । कोशी प्रदेशबाट सुरु भएको उनको रोड शो कर्णाली, सुदूरपश्चिम, मधेश प्रदेश, गण्डकी हुँदै अहिले लुम्बिनी पुगेको छ । बालेन हेर्न सडकमा हजारौंको भिड लाग्ने गरेको छ ।

तर बालेनको एक झलक देख्न पाइन्छ कि भनेर हेर्न आउने कतिपयले भने आफ्ना बहुमूल्य सुनका गहना, मोबाइल, घडी, पर्स गुमाउने गरेका छन् । बालेनले धनगढीमा रोड शो गर्दा झन्डै एक दर्जन मानिसको सुनको गहना लुटिएको थियो । प्रहरीले पत्रकार सम्मेलन गरेरै सुनका गहना लुटिने घटना बढेको जानकारी गराएको थियो । चार दिनअघि बालेनलाई हेर्न रौतहटको चन्द्रपुर सडक पुगेका एक वृद्ध सुनको सिक्री लुटिएपछि तनावमा परेका छन् ।

उनी बालेन हेर्न सडकमा आएका थिए । अचानक भिड बढ्यो । त्यत्तिकै एक युवक आएर उनलाई ग्वाम्लाङ अंगालो हान्यो र जाउँ भन्यो । त्यत्तिकैमा उनले घाँटीमा लगाएको सुनको सिक्री चैट भयो । आफ्नो सुनको सिक्री लुटिएपछि ती वृद्ध विलौना गर्दै गरेका भेटिए । उनले भने, ‘बालेन आए भनेर भिड एक्कासि बढ्यो । एकजना कालो अनुहारको युवा आएर अंगालो हाले । त्यसैबेला उनले मेरो सिक्री लुटेर लगे । मान्छे देखे चिन्छु ।’ भिड बढेका बेला लुटपाटमा संलग्न व्यक्तिहरूले आफ्नो मिसन पूरा गर्ने गरेको देखिएको छ ।