केपी ओलीलाई झापाका मतदाताले भने, ‘देशमा शत्रु लागे’


दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्‌नो गृह क्षेत्रमा पर्ने दमक नगरपालिका वडा नं. ३ को चर्चित ‘भ्युटावर’ को नाममा चिनिने विजनेस कमप्लेक्स भएको टोलमा पुग्नु भयो । त्यहाँ पुग्दा पूर्वप्रधानमन्त्री स्थानीयबासीले भव्य रुपमा स्वागत मात्र गरेनन्, मनमा उकुस मुकुस भएका भावनाहरु पोखे । स्थानीय बिष्णुकान्त न्यौपानेले भ्युटावर तर्फ देखाउँदै भन्नुभयो,‘हाम्रा आँखै अघि रातभरि झललल बल्ने यस्तो भव्य धरहरा जस्तो भ्युटावर थियो, यसलाई हुलहुज्जत गरेर तोडफोड गरे, जलाए । अहिले त गाउँनै अन्धकार जस्तो भएको छ ।’

उहाँसँग रहनु भएकी सरस्वता न्यौपानेले थप्नुभयो, ‘यो देशमा शत्रु लागे हजुर, यस्तो राम्रो भवन जलाई दिए । उता काठमाडौमा पनि उसै गरे । किन यस्तो भएको हाम्रो देशमा ?’ उहाँहरुको आक्रोश, गुनासो र भावनाले अध्यक्ष ओलीलाई पनि गम्भिर बनायो ।अन्य स्थानीयबासीहरुले पनि कम्प्लेक्स सर्वसाधारणका लागि खुल्ला भएसँगै स्थानीय स्तरमा व्यवसायीक र आर्थिक चहल पहल बढेको बताए ।

तर छोटो समयमानै यसलाई तोडफोड र आगजनी गरिए पछि खुल्दै गरेका आम्दानीका श्रोतहरु पनि बन्द भएको प्रति उनीहरुको चिन्ता थियो । दमक ३ का बासिन्दाले सो विजनेस कम्प्लेक्सलाई पुनः मर्मत गरि सञ्चालनमा ल्याउन जरुरी रहेको बताएका थिए । अध्यक्ष ओलीले सोमबार समेत दमकका विभिन्न वडा र टोलका मतदाताहरुसँग भेटघाट गर्नु भएको थियो । आज (मंगलबार) समेत उहाँ दमकका विभिन्न स्थानमा हुने भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ ।