काठमाडौं – चर्चित टिकटकर तुलसा अधिकारी ठगी प्रकरणमा मुछिएकी छन् । ब्ल्याकमेलिङ गरेर करोडौँ ठगेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ ।
हाम्रो अटोमोबाइल्सका सञ्चालक कुमार चिमोरियाले आभूषण व्यवसायी तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका हुन् । साउन २४ गते परेको जाहेरीमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि तुलसा भागेर चीन पुगेको सातदोबाटो प्रहरीको भनाइ छ । तुलसाले आफूलाई ब्ल्याकमेलिङ गरेर साढे चार करोड रुपैयाँ र ठूलो परिमाणमा ज्वैलरीसमेत लिएको चिमोरियाले आरोप लगाएका छन् ।
तुलसामाथि सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी परेको थियो । विभागले उक्त उजुरी पनि सातदोबाटो प्रहरीलाई फरवार्ड गरेपछि यसमा पनि अनुसन्धान सुरु भएको छ । अनुसन्धानबाट तुलसासँग अवैध सम्पत्ति रहेको आधारहरू देखिएको प्रहरीको दाबी छ ।
तुलसामाथि ठगी र अनुचित लेनदेनसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा अदालत लैजाने तयारी प्रहरीले गरेको छ । अदालतमा मुद्दा दायर भएपश्चात् उनलाई इन्टरपोलमार्फत नेपाल झिकाउने प्रक्रिया प्रहरीले सुरु गर्ने छ ।
तुलसाले भने चीनबाटै भिडिओहरू बनाएर आफूमाथि प्रहरीले बदनियत राखेको भन्दै न्यायको याचना गरेकी छन् । आफू नेपालमा छँदा प्रहरीले छलफलका लागि समेत नबोलाएको र चीन आएपछि मात्रै पक्राउ पुर्जीबारे थाहा पाएको उनको दाबी छ। ‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि अन्य स्रोतबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा उहाँहरूले जाहेरी नै देखाउन मान्नुभएन । पछि एक जना वकिल हायर गरेर मुद्दाको सामना गरिरहेकी छु,’ तुलसाले भनेकी छन् ।
तुलसाले अदालतमा मुद्दा दायर भएर छिटो किनारा लाग्ने अवस्था देखिएमा नेपाल फर्किन तयार रहेको बताएकी छन् । तर, प्रहरीले आफूलाई दुःख दिने मात्रै नियत राखेको उनको गुनासो छ । आफ्नो सबै सम्पत्ति रोक्का गरिएको, तुलासाका नाममा आफ्नो शोरुमबाट बहुमूल्य सामानहरू प्रहरीले जफत गरेर लगेको, आफू नजिकका मान्छेहरूलाई अनाहकमा दुःख दिइएको उनले बताएकी छन् । प्रहरी स्रोतका अनुसार तुलसासँग चलअचल गरेर १५ करोडभन्दा बढीको सम्पत्ति देखिएको छ । यति छोटो समयमै यत्रो अवैध सम्पत्ति देखिएपछि प्रहरी नै आश्चर्यमा परेको छ ।












प्रतिक्रिया