३३ किलो सुनकाण्डमा मुछिएकी नितिमालाई रास्वपाले बनायो सर्लाही १ बाट उम्मेदवार


काठमाडौं । जान्नेलाई छान्ने र आफूलाई नयाँ शक्ति भनेर प्रचार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले दागी व्यक्तिलाई सार्वभौम संसदमा पठाउन चाहेको देखिएको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्नदेखि होटेल रेस्टुरेन्ट व्यवसायीले रास्वपाको टिकट पाएका छन् ।

यसैमध्ये एक हुन् सर्लाही १ की रास्वपा उम्मेदवार नितिमा कार्की भण्डारी । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका व्यक्तिका परिवार कार्कीलाई उम्मेदवार बनाएपछि रास्वपाभित्रै तरंग उत्पन्न भएको छ।

नितिमा बाजेको सेकुवा रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीकी श्रीमती हुन्। चेतनको नाम २०७५ सालमा सार्वजनिक भएको चर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको थियो। उक्त प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती गोरेसँग मिलेर सुन तस्करी गरेको अभियोगमा भण्डारीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएको तथ्य सार्वजनिक भएको थियो। सुन गायब भएपछि भरिया शाक्यलाई यातना दिँदा हत्या भएको घटनाले देशव्यापी आक्रोश जन्माएको थियो। त्यसपछि सरकारले १५ वैशाख २०७५ मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो।

चेतनविरुद्ध मुद्दा दायर भएपछि उनी फरार रहेको भन्दै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिससमेत जारी गरिएको थियो। करिब दुई वर्षपछि उनी स्वयं अदालतमा उपस्थित भएका थिए। अदालतमा हाजिर भएपछि उनले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा पाएका थिए। अन्तिम फैसलाअनुसार उनी उक्त मुद्दामा सफाइ पाएको बताइए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीहरू भने विभिन्न निकायमा छानबिनकै क्रममा छ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलका अनुसार फरार प्रतिवादीको म्याद तामेली गर्न २० महिनाभन्दा बढी समय लागेको थियो। १८ जना फरार अभियुक्तको ठेगाना नखुलेपछि गोरखापत्रमा ३५ दिने सूचना प्रकाशित गरिएको थियो। अदालतले बाटोको म्यादसहित ६५ दिनभित्र उपस्थित नभए मुद्दाको प्रक्रिया अघि बढाउने जनाएको थियो। केही प्रतिवादीहरू अदालतमा हाजिर भई धरौटीमा छुटिसकेका छन्।

प्रहरी अनुसन्धानका क्रममा चेतन र गोरे व्यावसायिक साझेदार रहेको खुलासा भएको थियो। सुन काण्ड सार्वजनिक भएपछि भण्डारी अमेरिका गएको र पछि नेपाल फर्केर अदालतमा हाजिर भएको विवरण सार्वजनिक अभिलेखमा उल्लेख छ। नितिमा पनि श्रीमान् चेतनसँगै अमेरिका पुगेकी थिइन् । घटना अलि मत्थर भएपछि उनी नेपाल फर्केकी हुन् ।

नितिमालाई रास्वपाले उम्मेदवार बनाएको विषयले राजनीतिक तथा सामाजिक वृत्तमा प्रश्नहरू उठाएको छ। रास्वपाले भने उम्मेदवारी व्यक्तिगत आधारमा दिइएको र कुनै व्यक्तिमाथि अदालतबाट दोषसिद्ध नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने बताएको छ ।