काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले घरघर पुगेर आफ्नो नाम लिएर मत माग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा अल्झिएर नबस्ने आग्रह गरे। ‘सामाजिक सञ्जालमा लेख्नुपर्छ, बोल्नुपर्छ, गालीगलौज गर्नुपर्दैन । सामाजिक सञ्जालमा अल्झिएर नबस्नुस्। गोडा चलाउनुस्। घरघर पुग्नुस्,’ उनले भने ।
उम्मेदवार एक्लैले केही गर्न नसक्ने थापाको भनाइ थियो। सबै नेता तथा कार्यकर्ताले घरघर पुग्नुपर्नेमा उनले जोड दिए। ‘पहिले दुई लाइन गाली गर्लान, त्यसपछि संवाद गर्नुस्,’ थापाले भने, ‘म गगन थापा भएर मत माग्न आएको छु, पाँच वर्ष मौका दिनुस्, निरास बनाउँदैनौ भन्नुस्।’
यसअघि कांग्रेसलाई मत दिएका मतदाताले यसपटक रुखमा मतदान गर्न नहुने कुनै कारण नभएको उनले जिकिर गरे। युवाको भावनाअनुसार कांग्रेस मात्रै बद्लिएको बताउँदै थापाले भने, ‘रुख चिह्नमा मत हाल्न नपर्ने एउटा पनि कारण छैन।’ यसअघि पनि थुप्र आन्दोलन भएको र त्यसका कांग्रेसले सम्हालेका थापाले स्मरण गराए। माओवादी विद्रोह, मधेस आन्दोलन, थारू आन्दोलन, जनजाति आन्दोलन भएको उनले सुनाए। त्यसले जेनजी आन्दोलनपछि पनि देशलाई सम्हाल्ने कांग्रेस मात्रै भएको उनको भनाइ थियो।
चुनावी सभामा उनले नयाँ नेपालको नाराकै भरमा माओवादी संसद्को ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन् । ‘०६४ सालमा यसैगरी माओवादीले पुरानाले बिगारे, हामी बनाउँछौँ भन्यो । उसको नयाँ नेपालको नारा बिक्यो । हामीले लामालामा कुरा गर्यौँ, उसले हामी नयाँ बनाउँछौँ भन्यो,’ थापाले भने, ‘नयाँ नेपाल बनाउने नारा लाएर आएको माओवादीले संविधान पनि बनाउन सकेन । अन्त्यमा कांग्रेस आएर संविधान बनाउनुपर्यो । देशको पाँच वर्ष खेर गयो ।
यसपटक पनि चुनावअघिको वातावरण त्यस्तै नाराबाट प्रभावित भएको थापाले बताए । ‘अहिले त्यस्तै भएको छ । पुराना र नयाँको नारा लागेको छ । पुरानाले बिगारे, हामी बनाउँछौँ भनेको छ,’ उनले भने, ‘सडक बनेन, बाँधेर हुन्छ कि ठिगुरा ठोकेर हुन्छ, टाइममा बनाउँछु भनेको सुनिन्छ ।’












प्रतिक्रिया