काठमाडौं – पोखरा केन्द्रित कास्की निर्वाचन क्षेत्र नम्बर ३ आगामी प्रतिनिधिसभा निर्वाचनसँगै फेरि एकपटक राजनीतिक रूपमा चासोको केन्द्रमा परेको छ । नेपाली कम्युनिस्ट पार्टीले यस क्षेत्रमा अनुभवी नेता गोपाल गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै लामो समय संगठन निर्माणमा सक्रिय रहेका एक नेताको प्रत्यक्ष चुनावी यात्राको सुरुवात भएको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको जन्मक्षेत्रसमेत मानिने यस क्षेत्रमा उम्मेदवार चयन प्रक्रिया अन्तिम समयसम्म अन्योलमा थियो । विभिन्न नेताहरूको नाम सिफारिस भइरहेका बेला अन्ततः पार्टीले संगठनभित्र लामो समयदेखि सक्रिय र अनुशासित राजनीतिक पृष्ठभूमि भएका गिरीलाई अघि सारेको हो ।
विसं २०११ मा कास्कीको रिभानमा जन्मिएका गिरी विद्यार्थी अवस्थादेखि नै वामपन्थी विचारधाराबाट प्रभावित भएका थिए । शिक्षण पेशामा संलग्न रहँदा पनि उनले जनपक्षीय राजनीतिमा आफ्नो सक्रियता कायम राखे । विसं २०४४ मा शिक्षक पदबाट राजीनामा दिएपछि भने उनी पूर्णकालीन रूपमा राजनीतिक आन्दोलनमा समर्पित भए ।
पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले पटक–पटक हिरासत र जेल जीवन भोग्नुपरेको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा मात्रै उनले ४५ दिन हिरासतमा बिताएका थिए । संघर्ष र संगठन निर्माणमा केन्द्रित राजनीतिक यात्राका कारण उनी स्थानीय तहमा परिचित नेताका रूपमा स्थापित भएका छन् ।
राजनीतिक गतिविधिसँगै गिरी विकास निर्माणका काममा पनि सक्रिय रहँदै आएका छन् । जिल्ला विकास समिति कास्कीको क्षेत्रीय सदस्यका रूपमा काम गर्दा उनले मिलनचोक–मर्दीखोला सडक खण्ड सञ्चालनमा ल्याउन तथा पुल निर्माणका योजना अघि बढाउन भूमिका खेलेका थिए । दुर्गम बस्तीलाई यातायात पहुँचसँग जोड्ने प्रयासले स्थानीय समुदायमा उनको पहिचान थप मजबुत बनेको मानिन्छ ।
यद्यपि लामो समयदेखि पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गिरीका लागि प्रत्यक्ष निर्वाचन भने पहिलो अनुभव हो । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच हुने कडा प्रतिस्पर्धाले उनको चुनावी यात्रा चुनौतीपूर्ण बन्ने अनुमान गरिएको छ ।
गिरीले पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेका छन् । जातीय विभेद अन्त्य गर्ने तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धतासहित उनले नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुने बताएका छन् ।
लामो समयदेखि आन्दोलन र संगठन निर्माणमा बिताएको अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्ने लक्ष्यसहित उनी यस पटक संसद् प्रवेशको तयारीमा छन् । स्थानीय नागरिकसँग प्रत्यक्ष सम्बन्ध कायम राख्दै आएको राजनीतिक पृष्ठभूमिका आधारमा आफू जनताको अपेक्षा पूरा गर्न सक्षम रहेको उनको दाबी छ ।












प्रतिक्रिया