महन्थलाई दिएको ३१ लाख फिर्ता माग्न जाँदा छोरी मिनाक्षीले धम्की दिएपछि तनावमा प्रियंका


काठमाडौं । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर सादगी जीवनशैली अपनाउँछन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेर केन्द्रीय कोषाध्यक्षसमेत बनेका ठाकुर पछि तमलोपा गठन गरे । तमलोपा, राजपा, जसपा हुँदै उनी अहिले लोसपाका अध्यक्ष छन् । पटक पटक सांसद र मन्त्रीसमेत भएका ठाकुर आर्थिक रूपमा त्यति विवादमा तानिएका भने छैनन् । तर सर्लाही ५ बाट विगतमा पटकपटक सांसद भए पनि उनले विकास निर्माण मा त्यति रुचि देखाएनन्। सोही कारण उनी आफ्नै पूर्वस्वकीय अमरेशकुमार सिंहबाट पराजित बने ।

विगतमा महोत्तरी-३ जितदा समेत विकास निर्माण मा अभिरुचि देखाएनन्।सो क्षेत्रमा उनले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई जसपा को उम्मेदवार बनाएका छन् । सो क्षेत्रमा कांग्रेसका बजरंग नेपाली मैदानमा छन् । तर महन्थकी छोरी मिनाक्षी भने अहिले पहिले लगेको पैसा फिर्ता माग्न जाँदा एक युवतीलाई गालीगलौजसहित धम्की दिएका कारण विवादमा तानिएकी छन् । यसरी महन्थबाट ठगिनेमा महोत्तरीकै सुरेश पाण्डेका छोरी प्रियंका पाण्डे हुन् । प्रियंका पाण्डे पेशागत रूपमा Structural इन्जिनियर हुन्। विगतमा मिनाक्षी र प्रियंकाबीच हार्दिक सम्बन्ध थियो ।

उनका बुवा सुरेश पाण्डे महन्थ निकट भएकाले प्रियंकाले चुनावमा सहयोग गर्न भन्दै ३३ लाख सापटी दिएकी थिइन् । तर मिनाक्षीले दुई लाखबाहेक अहिलेसम्म अरु रकम फिर्ता नगरेको दुखेसो प्रियंका गरेकी छन् । प्रियंकाले सामाजिक सञ्जालमै यसबारे यथार्थ सार्वजनिक गरेकी छन् । महोत्तरी ३ की लोसपा एउटी छोरीको पीडा भन्दै उनले लेखेकी छन्, ‘माननीय महन्थ ठाकुरले विगतको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिँदा विभिन्न व्यवस्थापन खर्चहरू मेरो परिवारमार्फत उधारोमा गरिएको थियो ।

उक्त रकम फिर्ता गर्ने कुरा उहाँले स्वयं स्वीकार गर्दै रु. ३३ लाख फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सुरुमा रु. २ लाख मात्र दिनुभयो, त्यसपछि भने पूर्ण रूपमा भुक्तानी रोकियो। करिब तीन वर्ष बितिसक्दा पनि बाँकी रकम फिर्ता भएको छैन ।’ प्रियंकाले महन्थ ठाकुरसँग पैसा माग्न जाँदा मिनाक्षीले आफूलाई अपमानजनक व्यवहार देखाएको बताएकी छन् ।

‘मेरो बाँकी रकम माग्न र घरमा बारम्बार ताकेता आउन थालेपछि मैले आफूले चुकाउँदै आएको अवस्थाबारे जानकारी गराउन ठाकुरजीकहाँ जाँदा उहाँकी छोरी तथा हाल महोत्तरी ३ की उम्मेदवार डा. मिनाक्षी ठाकुरबाट जथाभावी गाली–गलौज र अपमानजनक व्यवहार सहनुप¥यो। यस्तो व्यवहार अत्यन्त दुःखद र अस्वीकार्य छ। गाली–गलौज र दुव्र्यवहारले सत्य बदलिँदैन। उहाँहरूले मेरो पैसा फिर्ता गर्नैपर्छ— यो नै मेरो न्यायोचित माग हो । आज जसले निर्वाचनको व्यवस्थापन गरिरहेका छन्, उनीहरूले पनि बुझून्— चुनाव सकिएपछि खर्चको भार अन्ततः उनीहरूकै काँधमा पर्न सक्छ।

यस्तो प्रवृत्ति दोहोरिँदै आएको देखिन्छ। मेरो बुवा सुरेश पाण्डेयले उहाँहरूलाई दुई–दुईपटक सहयोग गर्नुभएको थियो। मधेस आन्दोलनका कारण हामीले भोगेको पीडामाथि पनि यस्तो व्यवहार हुनु अत्यन्त दुःखद छ । के यस्ता व्यवहार गर्ने व्यक्तिहरू हाम्रो प्रतिनिधि बन्न योग्य छन्? महोत्तरी ३ का जनताले अब गम्भीर भएर सोच्ने बेला आएको छ,’ उनले लेखेकी छन् । विगतमा वैदेशिक कोष देखि ‘सवारी काण्ड’ सम्मका घटनामा आफ्ना पिताको शक्ति र प्रभाव प्रयोग गरी विवादको केन्द्रमा रहेकी मीनाक्षी, यो पटक एक पेशेवर व्यक्तिको रकम फिर्ता नगरी उल्टै आक्रामकता प्रदर्शन गर्ने तहमा ओर्लिएकी छन्।

एक जनप्रतिनिधिबाट अपेक्षित न्यूनतम व्यावसायिक मर्यादा, नैतिकता र जवाफदेहिताको बदलामा देखिएको यो ‘गैर-जिम्मेवार’ व्यवहारले ‘हामीले खोजेको परिवर्तन’ माथि नै गम्भीर प्रश्न खडा गरेको छ। शक्तिको आडमा गरिने यस्ता व्यावसायिक बेइमानी र आर्थिक अपारदर्शिता कुनै पनि लोकतान्त्रिक प्रणालीमा क्षम्य हुन सक्दैन। अन्त्यमा, प्रश्न उही बाँकी रहन्छ— के राजनीतिक विरासत नै ‘विधिको शासन’ भन्दा माथि हो?