काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ ३ का उम्मेदवार डा.सुनिलकुमार शर्माले नोबेल मेडिकल बलेज र सिनामंगलस्थित केएमसी अस्पतालमा गरिब तथा विपन्नलाई विशेष छुटदेखि निःशुल्क उपचार सेवामा कटौती नगरेको प्रस्ट पारेका छन् ।
मोरङ ३ मा जनताले चुनाव हराएपछि शर्माले दुवै अस्पतालमा विशेष छुट र निःशुल्क उपचार सेवा कटौती गरेको भनेर सामाजिक सञ्जालमा भाइरल बनाइएपछि शर्माले मंगलबार बिहान यसबारे प्रस्ट पारेका हुन् । उनले उपचार सेवा चुनावसँग सम्बन्धित नरहेको भन्दै बजार हल्ला र भ्रम फैलाइएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘नोबेल र केएमसी अस्पतालमार्फत विगतदेखि नै नागरिकहरूको सेवा र सहयोगका विविध कार्यहरू निरन्तर रूपमा हुँदै आएका छन्। विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ। यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा, सम्बन्धित धबचम तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि सर्वविदित नै छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्याउने हाम्रो प्रयास सधैं निरन्तर रहँदै आएको छ,’ उनले भनेका छन् ।
आफूले जिल्लावासी र विपन्नलाई निःशुल्क उपचार सेवा दिए पनि चुनाव हराएकोमा शर्मा आक्रोशित भएको भन्दै हल्ला फैलिएको थियो । ‘चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु। तसर्थ, बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका हाम्रो संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार आउन हुन सबैमा हार्दिक अनुरोध गर्दछु,’ शर्माले भनेका छन् ।












प्रतिक्रिया