काठमाडौं । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन् । उनले शुक्रबारराजीनामा दिएपछि नयाँ प्रधान सम्पादकका लागि दरखास्त आह्वान गरिएको छ । नयाँ प्रधान सम्पादकको नियुक्ति नहुन्जेल सम्पादकीय नेतृत्व चौहानले नै सम्हाल्ने कान्तिपुरले जनाएको छ । आवेदनको अन्तिम मिति चैत १५, तोकिएको छ । कान्तिपुरले २०८० जेठ ७ मा चौहानलाई प्रधान सम्पादक नियुक्त गरेको थियो । उनी २०७८ असार २६ देखि सम्पादकको भूमिकामा थिए ।
कन्तिपुरको सम्पादक बन्नुअघि उनी नयाँ पत्रिका दैनिकको सम्पादक थिए । दुई दशकभन्दा बढी पत्रकारिता अनुभव बोकेका चौहानले आफ्नो कार्यकालमा कोभिड–१९ महामारी, जेन–जी आन्दोलन र निर्वाचनको चुनौतीपूर्ण समयमा कान्तिपुरको नेतृत्व गरेका थिए । ‘चौहानलाई कान्तिपुरले कोभिड–१९ देखि जेन–जी आन्दोलन तथा निर्वाचनसम्मको चुनौतीपूर्ण समयमा लगातार सफल नेतृत्व गरेकामा हामी हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौं,’ कान्तिपुरले आइतबार प्रकाशन गरेको प्रकाशकीयमा उल्लेख छ ।
गत शुक्रबार चौहानले समाचार कक्षमा उपस्थित सहकर्मीका माझ आफूले राजीनामा दिएको जानकारी गराएका थिए । राजीनामाको कारण भने कान्तिपुरको प्रकाशकीयमा उल्लेख छैन । चौहानको राजीनामापछि कान्तिपुरले नयाँ प्रधान सम्पादकका लागि सार्वजनिक आवेदन प्रक्रिया सुरु गरेको छ । नेपालको मुलधारका मिडियामा यसरी खुला प्रतिस्पर्धाबाट प्रधान सम्पादक छान्ने प्रयास विरलै भएको छ ।
‘पछिल्लो समय नेपालमा द्रुत गतिमा परिवर्तन भइरहेका राजनीतिक, आर्थिक र प्राविधिक परिवेशअनुसार हाम्रा पाठकहरू पनि प्रिन्ट संस्करणबाट डिजिटलतर्फ स्थानान्तरण हुँदै गइरहेका छन्’, आवेदनमा भनिएको छ, ‘यही सन्दर्भलाई मध्यनजर गर्दै कान्तिपुर दैनिकलाई नयाँ दिशामा अगाडि बढाउन कान्तिपुर मिडिया ग्रुप दूरदर्शी प्रधान सम्पादकको खोजीमा छ ।’ आवेदनका लागि वरिष्ठ नेतृत्वमा कम्तीमा पाँच वर्ष र समग्रमा कम्तीमा १५ वर्ष व्यावसायिक पत्रकारिताको अनुभव अनिवार्य राखिएको छ । देशले रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन प्रधानमन्त्री पाएलगत्तै कान्तिपुरले प्रधानसम्पादक पाउने छ । बालेनले चाहेको पत्रकार प्रधानसम्पादक बन्ने चर्चा छ । कान्तिपुरका मालिक सम्भव सिरोहिया बालेनका साथी हुन् ।













प्रतिक्रिया