तीन दिनदेखि रविको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा तीन दिनदेखि हेर्दाहेर्दैमा राखिएको छ । रविको अभियोगपत्र संशोधनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ।

बुधबार घोडेजात्राको सार्वजनिक बिदा भएकाले अब बिहीबार सुनुवाइ हुन लागेको हो । न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले यो मुद्दामा सुनुवाइ गरिरहेको छ। इजलासले उस्तै माग भएका तीनवटै रिट एकसाथ सुनुवाइ गरिरहेकोमा हेर्दाहेर्दैमा राखिएको छ।

युवराज पौडेल सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीसमेत तीनजनाले महान्यायाधिवक्ता सविता भण्डारीले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ। यसअघि न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले २७ फागुनमा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले पुस अन्तिममा सभापति लामिछानेउपर विभिन्न अदालतहरूमा दायर अभियोगपत्रबाट दुई मुद्दा झिक्ने गरी अभियोगपत्र संशोधनको निर्णय गरेकी थिइन्। केवल ठगी र सहकारी ठगीको मात्र अभियोग कायम रहने गरी तथा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग झिक्ने गरी भएको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा तीन रिट दर्ता भएका थिए।