काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ ।
पक्राउ परेका रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।
कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सिडिओ रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। यद्यपि, रिजालले भने आयोगसमक्ष आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नदिएको बयान दिएका थिए।
प्रहरीका अनुसार, आयोगको सिफारिसका आधारमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ बमोजिम ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुर’मा अनुसन्धान अघि बढाइएको छ। यस कसुरमा दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
कार्की आयोगकै प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन्।
तत्कालीन गृहमन्त्री लेखकनिकट मानिने रिजाल जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेपछि एक महिना नपुग्दै काठमाडौंको सिडिओबाट हटाइएका थिए।
सिडिओ हुनुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा समेत छुट्टै अनुसन्धान गरिरहेको छ। कर्मचारीहरूलाई अध्यागमनलगायतका आकर्षक कार्यालयमा सरुवा गर्दा पदीय आचरणविपरीत काम गरेको र आर्थिक लेनदेन गरेको उनीमाथि आरोप छ।












प्रतिक्रिया