काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजारमा पहिरो गएको छ । झन्डै दुई तिहाइ बहुमत ल्याएर रास्वपाले एकमना सरकार चलाए पनि पुँजी बजारले प्रधानमन्त्री बालेन्द्र शाह बालेन र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पत्याएको देखिएन ।
बजार खुल्नेवित्तिकै राताम्मे भएको नेप्से परिसूचक बीचबीचमा सकारात्मक हुने गरे पनि बन्द हुने बेला उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा ओर्लिएको छ । दुई दिनमै झन्डै सय अंकले नेप्सेमा पहिरो गएको छ ।
आज कारोबार रकम पनि घटेको छ । आइतबारभन्दा आज दुई अर्बभन्दा बढी कारोबार रकम घटेको छ । ३४१ स्ट्रिप्सको तीन करोड कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९६ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आइतबार जस्तै आज पनि रिडी पावर कम्पनीको ६८ करोडभन्दा माथिको कारोबार भएको छ । ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख, शिवम् सिमेन्टको ४३ करोड ८० लाख, अपी पावरको ३८ करोड र नेसनल हाइड्रोपावर कम्पनीको ३७ करोडभन्दा माथिको कारोबार भएको छ ।
सोमबार चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा रिलायन्स स्पििनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटेल फोरेस्ट इन छन् । सुपर खुदी हाइड्रोको नौ प्रतिशतभन्दा बढी सेयर मूल्य बढेको छ ।
आज पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ। वित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानीजीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।












प्रतिक्रिया