अमेरिकामा चिकित्सक पेशामा सक्रिय रहेका सुरेश बस्नेत र रेहा पोखरेलको जोडीले नयाँ रोमान्टिक गीत सार्वजनिक गरेका छन्। सुरेश बस्नेतको स्वरमा रहेको ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो।
‘दुई मुटु, एक यात्रा’ भन्ने भावनात्मक थिममा तयार पारिएको यस गीतको भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका आकर्षक स्थानहरूमा छायांकन गरिएको छ। भिडियोमा वास्तविक जीवनकै जोडी सुरेश र रेहाले श्रीमान्–श्रीमतिको भूमिकामा अभिनय गरेका छन्, जसले कथालाई अझै जीवन्त बनाएको छ।
गोविन पुनको शब्द तथा संगीतमा तयार भएको गीतले सुरेश र रेहाको वास्तविक प्रेम यात्रा र जीवनका उतारचढावलाई प्रस्तुत गर्दछ। विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा बनेको भिडियोमा साहिल खानको सम्पादन र प्रविण श्रेष्ठको पटकथा रहेको छ।
छायांकनतर्फ अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्म्स प्रा.लि., र अमेरिकामा पशुपति बस्यालले काम गरेका छन्। उच्च लागतमा निर्माण गरिएको यस भिडियोबारे गायक सुरेश बस्नेत भन्छन्, “यो गीत हामीले व्यावसायिक लाभभन्दा पनि संगीतप्रतिको गहिरो प्रेमका कारण दर्शकमाझ ल्याएका हौं।”
व्यस्त चिकित्सकीय पेशाका बाबजुद पनि सुरेश र रेहाले गीतसंगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। उनीहरूको सांगीतिक यात्रा अझ उचाइमा पुग्ने कामना।












प्रतिक्रिया