काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधन र सदन सञ्चालनमा सहयोग गर्ने दललाई उपसभामुखमा समर्थन गर्ने रणनीति अघि सारेको छ ।
सभामुखमा रास्वपाका उपसभापति डिपी अर्यालको एकल उम्मेदवारी परेपछि उपसभामुखमा कसलाई समर्थन गर्ने भन्ने विषयमा संसदको ठूलो दलका हैसियतले रास्वपाले छलफल अघि बढाउने भएको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदलाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउनका लागि अन्य दलहरूसँग छलफल सुरु गरिसकेको बताएका छन्।
शुक्रबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सदनलाई मर्यादित सञ्चालन गर्नु अरु पार्टीको पनि विश्वास प्राप्त हुनुपर्ने भएकाले रास्वपाले सबै पार्टीसँग छलफल सुरु गरिसकेको बताए।
उनले संविधान संशोधनलाई सबै दलले प्राथमिकतामा राखेकाले यसमा छलफल गर्न प्रस्ताव समिति बनाइएको उल्लेख गरे । संविधान संशोधनको लागि छलफलका विषयवस्तुहरू प्रस्ताव भएपछि अन्य दलहरूसँग छलफल अघि बढाइने उनको भनाइ छ । महामन्त्री बुर्लाकोटीले प्रतिनिधिसभाको सभामुख चयनको प्रक्रिया अघि बढिरहेकाले सभामुख चयन भइसकेपछि उपसभामुख चयनको विषयमा छलफल सुरू हुने धारणा राखे।
सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्न प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा बसेर संविधान संशोधन गर्न तयार भएमा रास्वपाले कांग्रेस, राप्रपा वा नेकपा जुनसुकै दलका उपसभामुखका उम्मेदवारलाई समर्थन गर्नसकिने विकल्प खुल्ला गरेको हो ।
अहिलेसम्म उपसभामुखमा नेकपाबाट बलावती शर्मा र राप्रपाबाट खुश्बु ओलीको नाम चर्चामा आएको छ । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि उपसभामुखमा दाबी प्रस्तुत गरेपछि परिस्थिति फेरिएको छ ।












प्रतिक्रिया