काठमाडौं । प्रतिनिधिसभाको सभामुख रास्वपा उपसभापति डिपी अर्याल बन्ने निश्चित भएको छ । अहिलेसम्म सभामुखमा अर्यालको मात्रै उम्मेदवारी परेको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुखमा उम्मेदवारी नै नदिने भएको छ । संख्यात्मक हिसाबले रास्वपासँग झन्डै दुई तिहाइ बहुमत भएकाले पनि कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको हो ।
सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताए ।
सभामुखका लागि शुक्रबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय छुट्याइएको छ । एमाले छलफलमा रहेको बताइन्छ । प्रतपिक्षीको धर्म निभाउन पनि एमालेले सभामुखमा उम्मेदवारी दिनसक्ने नेताहरुको भनाइ छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताए । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’ उनले भने ।
सभामुख र उपसभामुख एउटै दलको बन्न नमिल्ने संवैधानिक प्रावधानका कारण रास्वपाले नेकपालाई समर्थन गर्ने बताइन्छ ।
उपसभामुख संवैधानिक परिषदको सदस्य पनि भएकाले रास्वपाले नेकपालाई समर्थन गर्ने बताइन्छ । किनभने राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल नेकपाका नेता हुन् । उपसभामुख पनि नेकपाको भएमा रास्वपालाई संवैधानिक परिषदमा बहुमत जुटाउन सहज हुने निष्कर्ष निकालिएको छ । रास्वपाले उपसभामुखमा नेता देवेन्द्र पौडेलकी श्रीमती वलावती शर्मालाई अघि सार्ने स्रोतले बतायो ।












प्रतिक्रिया