हर्क साम्पाङले उठाए गृहमन्त्री गुरुङमाथि नैतिक प्रश्न


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे प्रष्ट पार्न सुझाव दिएका छन् ।

फेवातालको २० रोपनी जग्गामा नाम मुछिएपछि हर्कले सोमबार बिहान फेसबुकमार्फत् गृहमन्त्री गुरूङलाई जग्गाबारे प्रष्ट पार्न सुझाव दिएका हुन् । ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् । नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । तपाईंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन्,’ उनले भनेका छन् ।

काम गर्ने मान्छेको खुट्टा तानिने र काम गर्ने क्रममा अपजस पाइने स्मरण गर्दै उनले पोखराको फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा रहेको खबरले सामाजिक सञ्जाल तात्दा नमज्जा लागेको बताएका छन् ।

तर गुरुङले फेवातालमा आफ्नो २० रोपनी जग्गा नभएको, अर्कैसँग १५ वर्षका लागि भाडामा लिएर वाटर रिसोर्ट खोल्न लागेको उल्लेख गरेका छन् । उनले ताल किनारबाट ६५ मिटर नपर्ने भनेर जग्गाधनीले आफूलाई भनेको दाबी गर्दै बाँकी भाडा नबुझाउने अडान राखेका छन् ।