काठमाडौं । कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले वैशाख २ मा निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र वैशाख ४ मा निर्वाचन गर्ने निर्णय गरेको हो । संयोजक रसाइलीका अनुसार दलको नेता चयनका लागि सर्वसहमतिको प्रयास गरिनेछ ।
सहमति नजुटे प्रतिस्पर्धाका आधारमा नेता चयन गरिनेछ । निर्वाचन समितिमा राजु कटुवाल र मुना भुसाल सदस्य छन् । संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य प्रमुख दाबेदार मानिएका छन् । केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद हुन् । आचार्य रसुवाबाट विजयी हुन् ।
प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ । प्रत्यक्षबाट निर्वाचित आचार्यसँगै भरत खड्का, निस्कल राईलगायतको पनि चर्चा छ । कांग्रेस संसदीय दलको विधानमा नेता चयनसम्बन्धी दफा ५ को उपदफा ९१० र ९२० मा व्यवस्था छ ।
उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ । ०६४ को पहिलो संविधानसभादेखि कांग्रेसमा दलको नेता सर्वसम्मत रूपमा नभएर निर्वाचनबाट चयन हुँदै आएका छन् । कांग्रेस संसदीय दलको नेता प्रमुख प्रतिपक्षी नेता पनि हुने भएकाले अहिले सबैको चासो छ । संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले यसतर्फ धेरैको ध्यान खिचिएको हो ।












प्रतिक्रिया