कांग्रेसमा किचलोकै बीच शेखरले भने, एकता र सहकार्य आवश्यक


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्ने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही भएको बताएका हुन् ।

कांग्रेसमा बढ्दो आन्तरिक किचलोका बीच उनले एकता र सहकार्यमा जोड दिएका हुन् । ‘आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध भएर अघि बढ्न सकेमा कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ । राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो,’ उनले भनेका छन् । लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित कांग्रेस आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति भएको उनको भनाइ छ ।

कोइरालाले बदलिँदो समयअनुसार आफूलाई रूपान्तरण गर्दै र नयाँ पुस्तालाई समेट्दै अघि बढ्नु कांग्रेसका लागि अपरिहार्य बनेको उल्लेख गरेका छन् । जनताले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको भन्दै उनले काम गर्ने, देखिने र अनुभव हुने सरकारको आवश्यकता झनै तीव्र भएको उनको भनाइ छ ।

‘सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो,’ कोइरालाले लेखेका छन् । कांग्रेसमा एकता झन झन् टाढिँदै गएको छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले ‘कार्यबाहक सभापति’ भनेर विज्ञप्ति जारी गरेपछि कांग्रेसले बुधबार उनलाई स्पष्टीकरण सोध्ने भएको छ । यसकै लागि बुधबार अनुशासन समितिको बैठक बोलाइएको छ ।