काठमाडौँ । प्रश्न सोध्ने शैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले नेपाली मिडिया र पत्रकारसँग आक्रोश पोखेकी छन् । रास्वपा संसदीय दलकी सचेतकसमेत रहेकी धितालले नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालमा महिला जनप्रतिनिधि तथा युवा महिलाहरूलाई हेर्ने र प्रस्तुत गर्ने दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाएकी छन् ।
धितालले सामाजिक सञ्जाल फेसबुकमार्फत मिडियाले महिलाको बौद्धिकताभन्दा बाह्य रूप र हाउभाउलाई बढी महत्त्व दिने गरेकोमा चिन्ता व्यक्त गरेकी हुन् । उनी आफैं पत्रकारिता पृष्ठभूमिबाट आएकी सांसद हुन् । युवा महिलाहरूसँग प्रश्न सोध्नुअघि ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास बढ्दै गएको उनको भनाइ छ । यसलाई उनले व्यक्तिगत टिप्पणी मात्र नभएर संरचनागत समस्याको रूपमा व्याख्या गरेकी छन् ।
‘हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएका हौँ,’ धितालले भनेकी छन्, ‘तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ र सार्वजनिक बहसको स्तरलाई घटाउँछ ।’ धितालले पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अत्यधिक बढेको टिप्पणी गरेकी छन् ।
राम्रो नियतले गरिएका भनिएका अभ्यासहरूले पनि अन्ततः महिलालाई वस्तुको रूपमा हेर्ने संस्कारलाई नै बलियो बनाउने उनको दाबी छ । ‘हामी आफ्नो भूमिकाबाट यति धेरै नभड्कौँ । सामाजिक सञ्जालमा महिलाको प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै भयो,’ उनले लेखेकी छन्। पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस् र गहिरो प्रश्न उठाओस् भन्ने चाहना उनले व्यक्त गरेकी छन् ।
‘तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्यांकन गर्ने होइन । सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन्,’ उनले भनेकी छन् । मिडिया र सूचना प्रवाह गरिरहेका युट्युब च्यानलहरूले आफ्नो प्रश्नको स्तर उकासेर मात्र मूलधारको मिडियासँगको दूरी घटाउन सक्ने उनको सुझाव छ । केही युट्युब च्यानलहरू आफैँ मूलधारसँग प्रतिस्पर्धामा रहेकाले आवश्यक परे त्यहाँबाट पनि सिक्न उनले आग्रह गरेकी छन् ।













प्रतिक्रिया