काठमाडौं — विश्वव्यापी रूपमा चर्चित नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को दोस्रो संस्करण औपचारिक रूपमा घोषणा गरिएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गर्दै निर्णायक मण्डल, पुरस्कार राशि तथा अडिसन तालिका सार्वजनिक गरिएको हो। सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको यो प्लेटफर्म हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलिब्रेटी ग्रान्ड जज’को रूपमा घोषणा गरिएको छ। उनी ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता लोकप्रिय रियालिटी शोका निर्णायक रहिसकेका छन्।
निर्णायक मण्डलमा नेपालका चर्चित डान्स समूह ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा तथा कार्यक्रमका कलात्मक निर्देशक जेडी तमाङ पनि रहनेछन्।
कार्यक्रमका राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। कलात्मक निर्देशक जेडी तमाङका अनुसार प्रतियोगितामा नेपाली मौलिक संस्कृति र नृत्यलाई विशेष प्राथमिकता दिइनेछ।
कार्यक्रमप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले पनि चासो देखाएको छ। दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले यसलाई नेपाल–अमेरिका सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे।
पत्रकार सम्मेलनमा दयाहाङ राई, बुद्धि तामाङ लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो। ‘फेस अफ वर्ल्ड अफ डान्स नेपाल’ कविता नेपालीले यो नवप्रतिभाका लागि सुनौलो अवसर भएको बताइन् भने नायिका परीक्षा लिम्बु र अभिनेता प्रशान्त ताम्राकारले कार्यक्रमप्रति उत्साह व्यक्त गरे। मिडिया व्यक्तित्व सिसन बानियाँले फाइनल ‘प्याराडाइम टिभी’मार्फत युट्युबमा प्रसारण हुने जानकारी दिए।
प्रतियोगिता चार डिभिजन—अपर, जुनियर, अपर टिम र जुनियर टिम—मा सञ्चालन हुनेछ। प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनले जलप गरिएको ट्रफी र विभिन्न उपहार प्राप्त गर्नेछन्।
अडिसन नेपालगन्ज (वैशाख १९), बुटवल (वैशाख २२), पोखरा (वैशाख २६), काठमाडौं (वैशाख ३०) र इटहरी (जेठ २) मा सञ्चालन हुनेछन्। सेमिफाइनल जेठ २१ गते र ग्रान्ड फिनाले जेठ २३ गते आयोजना गरिनेछ।












प्रतिक्रिया