काठमाडौं – चलचित्र ‘बा : एक योद्धा’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउनेछ।
हरि लम्साल को निर्देशनमा बनेको यो चलचित्र कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को पूर्वसन्ध्यामा रिलिज गर्न लागिएको हो। संगीत क्षेत्रमा स्थापित लम्सालको यो निर्देशनमा डेब्यु फिल्म हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्साल आफैंले तयार पारेका हुन्। चलचित्रका निर्माता वसन्त लम्साल हुन्।
फिल्ममा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त मुख्य भूमिकामा देखिनेछन्। वास्तविक जीवनका आमा–छोरी झरना र सुहानाले पहिलो पटक एउटै फिल्ममा आमा–छोरीकै भूमिकामा अभिनय गरेका छन्।
‘बा : एक योद्धा’ ले नेपाली समाजमा बुवाले सन्तानका लागि गर्ने त्याग, संघर्ष र जिम्मेवारीको कथा प्रस्तुत गर्नेछ। फिल्मको छायांकन शिवराम श्रेष्ठ ले गरेका हुन्, जसले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन्।
निर्माण पक्षका अनुसार यो फिल्मले भावनात्मक तथा सामाजिक कथामार्फत दर्शकलाई सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।














प्रतिक्रिया