नागढुङ्गा–सिस्नेखोला सुरुङ साउन दोस्रो हप्ताबाट सञ्चालनमा आउने


सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग को सञ्चालन अब अन्तिम चरणमा पुगेको छ। करिब २.६८८ किलोमिटर लामो यो सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट गाडी आवतजावतका लागि खुल्ने तयारी गरिएको छ। हालसम्म आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने ९६ प्रतिशत बजेट खर्च भइसकेको छ। केही पहिरो नियन्त्रण र मुआब्जा वितरणका काम बाँकी भए पनि ती काम सञ्चालनसँगै गर्न सकिने जनाइएको छ।

यो परियोजना २०७६ कात्तिक ४ गते सुरु भएको थियो र जापानी कम्पनी Hazama Ando Corporation ले निर्माणको जिम्मा पाएको थियो। जापानको सहुलियत ऋण र नेपाल सरकारको लगानी गरी करिब २२ अर्ब रुपैयाँमा सुरु गरिएको आयोजना लागत वृद्धि भएर झन्डै २८–२९ अर्ब पुगेको छ।

सुरुङमार्ग सञ्चालनपछि सवारीले ७ मिनेटमै नागढुङ्गा–सिस्नेखोला पार गर्न सक्नेछन्, जसले समय र इन्धन बचत हुनेछ। कार, बस, ट्रकका लागि टोल शुल्क तोकिएको छ भने RFID प्रणालीमार्फत डिजिटल भुक्तानीको व्यवस्था गरिएको छ। पैदल, दुईपाङ्ग्रे तथा जोखिमयुक्त सामग्री बोकेका सवारीलाई प्रवेश निषेध गरिनेछ।

सुरक्षाका लागि सीसी क्यामेरा, आपतकालीन सुरुङ, फायर हाइड्रेन्ड र एम्बुलेन्स तयारी अवस्थामा रहनेछन्। अब सञ्चालन ढिलाइ नगर्न संसदको पूर्वाधार विकास समितिले पनि कडा निर्देशन दिएको छ।