एक मुठ्ठी बादल’ हेरेपछि सुशीला कार्कीको प्रतिक्रिया– समाजको यथार्थ बोलेको सिनेमा


काठमाडौं – आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक मुठ्ठी बादल’को प्राइभेट स्क्रिनिङ सम्पन्न गरिएको छ । विशेष प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कांग्रेस नेता सुनिलकुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमन प्रताप अधिकारीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ‘एक मुठ्ठी बादल’ आफूलाई निकै मन परेको बताइन् । उनले आफू सामान्यतया कम चलचित्र हेर्ने गरेको उल्लेख गर्दै निमन्त्रणाका कारण सिनेमा हेर्न पुगेको बताइन् ।

उनले भनिन्, ‘मलाई यो चलचित्र आर्ट सिनेमा जस्तो लाग्यो । यसले अहिलेको समाजलाई निकै यथार्थ रूपमा प्रस्तुत गरेको छ । मध्यमवर्गीय परिवार, पुरानो पुस्ता र जेनेरेसन–जेडबीचको सोचको टकराव चलचित्रको मुख्य पक्ष हो । अहिलेको पुस्ताले पुराना संस्कार सहजै स्वीकार गर्न नसक्ने अवस्थालाई सिनेमाले राम्रोसँग देखाएको छ ।’

कार्कीले चलचित्रले पारिवारिक असमानता र आर्थिक विभेदको कथा पनि उठाएको बताइन् । ‘एक छोरी आर्थिक रूपमा कमजोर परिवारमा विवाह गरेकी छिन्, जहाँ ज्वाइँ केही हेपिएको देखिन्छ । अर्की छोरीलाई आमाबुबाले सम्पत्ति बेचेर विदेश पढ्न पठाउँछन् र उसको सम्पन्न परिवारमा विवाह हुन्छ । यी दुई परिवेशमार्फत समाजभित्रको असमानता चलचित्रले मार्मिक ढंगले प्रस्तुत गरेको छ,’ उनले भनिन् ।

कांग्रेस नेता सुनिलकुमार थापाले चलचित्रको सन्देश भावनात्मक र यथार्थपरक रहेको प्रतिक्रिया दिए । निर्देशक अमन प्रताप अधिकारीले भने ‘एक मुठ्ठी बादल’लाई नेपाली सिनेमाकै उत्कृष्ट चलचित्रमध्ये एक भएको उल्लेख गर्दै नेपाली सिनेमाको उदाहरण दिनुपरे यही चलचित्र सिफारिस गर्ने बताए ।

साहारा शर्माको डेब्यु निर्देशनमा बनेको चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा रहेका छन् ।

चलचित्र निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलको पनि सहभागिता रहेको छ । सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा डिजाइन तथा कीर्ति जोशीको मेकअप रहेको छ ।

मर्णा जेम्सले प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छन् भने शर्मिला आले र मीरा खड्काले सहायक निर्देशनमा साथ दिएका छन् ।

चलचित्रका अधिकांश प्राविधिक तथा सिर्जनात्मक विभागमा महिलाको नेतृत्व रहेको ‘एक मुठ्ठी बादल’ गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो । नेपालमा चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।