‘लालीबजार’को दुई सातामै ५ करोड २५ लाख कमाइ, स्वस्तिमाको स्टारडम झन् चम्कियो


तेस्रो सातामा प्रवेश गरेको फिल्म ‘लालीबजार’ले दुई सातामै ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै शानदार व्यापार गर्न सफल भएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार फिल्मले जेठ ७ गते राति ११:५९ बजेसम्म उक्त कमाइ गरेको हो ।

आमा र छोरीको संवेदनशील कथामार्फत शिक्षाको महत्व उजागर गरेको फिल्मलाई देशभरका दर्शकले मन पराइरहेका छन् । निर्माण पक्षका अनुसार पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शक हल पुगेका छन् । विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकलाई फिल्म हेर्न पठाउनेदेखि छोरीहरूले आमालाई लिएर हल पुग्ने क्रम बढ्दो छ ।

अभिनेत्री स्वस्तिमा खड्काले देशभर दर्शकबाट पाएको मायाप्रति कृतज्ञता व्यक्त गर्दै फिल्मले पूर्वदेखि पश्चिमसम्म समान साथ पाएको बताएकी छन् । फिल्मको विषयवस्तु, कलाकारको अभिनय र भावनात्मक प्रस्तुतिलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । धेरै दर्शकले आफू आमाको संघर्षसँग जोडिएको प्रतिक्रिया दिएका छन् ।

फिल्मलाई पछिल्लो समय विभिन्न विद्यालयले समेत विद्यार्थीलाई हलमै लगेर देखाउन थालेका छन् । शिक्षाको महत्व र सामाजिक चेतनासँग जोडिएको सन्देशका कारण काठमाडौंदेखि मोफसलसम्म विद्यालयहरूको आकर्षण बढेको हो । नेपालगञ्जको सिने रोयलमा मात्रै बिहीबार करिब ६ सय विद्यार्थीले फिल्म हेरेका थिए ।

‘लालीबजार’मार्फत अभिनेत्री स्वस्तिमा खड्काको स्टारडम थप मजबुत बनेको चर्चा पनि भइरहेको छ । मुख्य भूमिकामा केन्द्रित रहेकी स्वस्तिमाले ‘लेडी हिरो’का रूपमा दर्शकको मन जितेकी छन् । नेपाली फिल्म क्षेत्रमा महिला पात्र केन्द्रित फिल्मले छोटो समयमै यस्तो व्यापार गर्नु विशेष उपलब्धिका रूपमा हेरिएको छ ।

यसअघि ‘जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सले यसपटक सामाजिक कथामा आधारित नयाँ प्रयास गरेको हो । परिवारसँग बसेर हेर्न मिल्ने सरल प्रस्तुतिका कारण फिल्मप्रति दर्शकको विश्वास अझ बलियो बनेको निर्माण पक्षको भनाइ छ ।

फिल्मको ट्रेलर अहिले पनि युट्युबको मुभी चार्टमा नम्बर १ ट्रेन्डिङमा रहेको छ । एक महिनाअघि सार्वजनिक ट्रेलरले हालसम्म २२ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

यम थापाको कथा तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायत कलाकारहरूको अभिनय रहेको छ ।