क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य


काठमाडौंस्थित किस्ट शिक्षण अस्पतालले क्यान्सर उपचार सेवामा अन्तर्राष्ट्रिय स्तरको सहकार्यलाई थप मजबुत बनाएको छ । अस्पतालले भारतको प्रतिष्ठित मेदान्ता गुरुग्रामसँग सहकार्य गर्दै अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी क्यान्सर उपचार सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा. विष्णु दत्त पौडेलले गरिरहनुभएको छ । अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ लगायतको सशक्त टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने विभिन्न प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ ।

किस्ट क्यान्सर केन्द्रले मेदान्ता गुरुग्रामसँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय (सेकेन्ड ओपिनियन) तथा टेलि–परामर्श सेवा पनि प्रदान गरिरहेको जनाएको छ । अस्पतालका अनुसार यस सहकार्यले नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्न बिरामीलाई ठूलो सहयोग पुगेको छ ।

यसै क्रममा भारतको मेदान्ता गुरुग्रामका प्रख्यात क्यान्सर रोग विशेषज्ञ डा. सत्य पाल कटारिया विशेष अतिथि वक्ताका रूपमा सहभागी हुनुभएको थियो । उहाँको उपस्थितिमा आयोजित दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँगै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट आएका वरिष्ठ चिकित्सक र चिकित्सा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा गहन छलफल गरिएको थियो ।

अस्पतालले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय सहकार्यलाई थप विस्तार गर्दै आधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।