काठमाडौँ । २८ जेठ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को हालैको एक विवादित अभिव्यक्तिका कारण संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूबीच सघन छलफल सुरु भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विशेष सक्रियतामा बुधबार संसद् भवन सिंहदरबारमा सत्तारुढ र विपक्षी दलहरूबीच महत्त्वपूर्ण वार्ता भएको हो।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक रोकेर नेताहरू सहमति खोज्न छलफलमा जुटेका हुन्।
के हो विवादको कारण ?
गत १७ जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सम्बोधन गर्ने क्रममा “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भनी दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले तीव्र आपत्ति जनाउँदै आएका छन्। राष्ट्रियता र देशको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएको भन्दै विपक्षी दलहरूले सो भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसद् समक्ष माफी माग्नुपर्ने माग राख्दै निरन्तर संसद् अवरोध गर्दै आएका छन्।
वार्ता र सहमतिको प्रयास
संसद्को गतिरोध नलम्ब्याउन र बजेट तथा अन्य महत्वपूर्ण विधेयकहरूमाथि छलफल गर्ने वातावरण बनाउन रास्वपा सभापति रवि लामिछानेले मध्यस्थताको भूमिका निर्वाह गरिरहनुभएको छ। सिंहदरबारमा जारी छलफलमा सरकार र प्रतिपक्षी दलका प्रमुख बुँदाहरूमाथि संवाद भइरहेको छ।
छलफलमा प्रतिपक्षी दलहरूको तर्फबाट निम्न नेताहरू सहभागी छन्:
भीष्मराज आङ्देम्बे (प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता)
वर्षमान पुन (नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा सांसद)
खुश्बु ओली (राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक तथा सांसद)
बैठकमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्रीको सो भनाइलाई संसद्को रेकर्डबाट हटाउने प्राविधिक प्रक्रिया र संसद् सुचारु गर्ने विषयमा सकारात्मक छलफल भइरहेको छ। सहमति जुटे लगत्तै रोकिएको प्रतिनिधिसभाको बैठक सुचारु गर्ने तयारी गरिएको छ।

















प्रतिक्रिया