कैलालीमा वन कर्मचारीले टेम्पो भिरबाट खसाले, भिडियो भाइरल


कैलालीमा वन अतिक्रमण हटाउने क्रममा वन कार्यालयका कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ। घटना भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा भएको हो।

स्थानीय धनादेवी धामीले पुरानो टेम्पोलाई खुद्रा पसलका रूपमा प्रयोग गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले उक्त टेम्पो सडक तथा वन क्षेत्र अतिक्रमण गरेर राखिएको भन्दै हटाउने क्रममा भिरबाट खसालेका हुन्।

धामीका अनुसार कर्मचारीहरूले सामान झारिसकेपछि आफूले टेम्पो घर लैजान आग्रह गरे पनि नमानी टेम्पोलाई भिरमा फालिएको थियो। घटनापछि वन कार्यालयको कार्यशैलीप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

यता, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने टेम्पो हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरिएको दाबी गरेका छन्। उनका अनुसार पुस महिनादेखि नै उक्त टेम्पो हटाउन भनिएको थियो, तर अटेर भएपछि कर्मचारीहरू हटाउन पुगेका थिए।

‘सडकमा चलाउन नमिल्ने पुरानो टेम्पोलाई पसलका रूपमा प्रयोग गरिएको थियो। हटाउन जाँदा कर्मचारीमाथि गालीगलौज भएपछि आवेशमा यस्तो घटना भएको हुन सक्छ,’ ठाकुरले बताए।

वन कार्यालयका अनुसार राजमार्ग क्षेत्रको अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइसकिएको छ। तर टेम्पो भिरबाट खसालिएको घटनाले वन कार्यालयको कदममाथि प्रश्न उठाएको छ।