काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेश, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
पूर्वानुमानअनुसार कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
रातिको समयमा कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

















प्रतिक्रिया