गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोग मा उजुरी दर्ता गरिएको छ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासतभित्रै पुगेर मानसिक दबाब दिने तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो।

उजुरी दर्ता गराउनेहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेल रहेका छन्। उनीहरूले आयोगको केन्द्रीय कार्यालय, पुल्चोक पुगेर निवेदन दर्ता गरेका हुन्।

निवेदनमा उल्लेख गरिएअनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा मुद्दामा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए। पक्राउपछि सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको अवस्थामा करिब आधा घण्टापछि गृहमन्त्रीको नेतृत्वमा आएको टोलीले हिरासत कक्षभित्र अनधिकृत रूपमा प्रवेश गरेको दाबी गरिएको छ।

उजुरीकर्ताहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै, सीसीटीभी फुटेज, आगन्तुक अभिलेख सुरक्षित गर्न र पीडितहरूको बयान लिन आयोगलाई आग्रह गरिएको छ।