साउन २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लज्जावती’को पाँच पोस्टर सार्वजनिक


काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लज्जावती’ को पाँच क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ सार्वजनिक गरेका पोस्टरमार्फत सिनेमाका मुख्य पात्रहरूको फरक–फरक लुक्स र कथाको झलक प्रस्तुत गरेको हो।

सार्वजनिक पोस्टरहरूमा मुख्य कलाकारहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेशलाई चित्रण गरिएको छ। एक पोस्टरमा मुकुन भुसाल र जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले सिनेमामा प्रेमकथाले महत्वपूर्ण स्थान ओगटेको संकेत गर्छ।

अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिन्छन्। यसले पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई समेत समेटिएको आभास गराउँछ।

त्यस्तै, अर्को पोस्टरमा श्रीकृष्ण निरौला, मेनुका माझी र मुकुन भुसाल गम्भीर भावमा प्रस्तुत छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण र सहरी परिवेश दुवैलाई समेटिएको छ, जसले सिनेमाले विविध सामाजिक परिवेशको कथा प्रस्तुत गर्ने संकेत दिएको छ।

निर्माण टिमका अनुसार ‘लज्जावती’ले प्रेमसँगै परिवार, सम्बन्ध र समाजका विविध आयामलाई समेट्ने प्रयास गरेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको सिनेमाका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।

सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। तारा थापा ‘किम्भे’ को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।