ट्राफिकको कडा एक्सन ! कालो सिसा राख्ने २१८ सवारी कारबाहीमा, १५ हजार रुपैयाँसम्म जरिवाना


काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्र बनाएको छ। अभियान सुरु भएयता हालसम्म उपत्यकाका विभिन्न स्थानबाट २१८ वटा सवारी साधन कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार १४ असारदेखि सञ्चालनमा आएको अभियानअन्तर्गत पहिलो दिन १० वटा, १५ असारमा ९९ वटा, १६ असारमा ८७ वटा र १७ असारमा २२ वटा सवारी साधनमाथि कारबाही गरिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार अनुमतिबिना सवारी साधनमा कालो सिसा राख्नु कानुनविपरीत हो। उनले कालो सिसासम्बन्धी कारबाही गर्ने अधिकार यातायात व्यवस्था विभागले प्रदेश यातायात कार्यालयलाई हस्तान्तरण गरिसकेको भन्दै बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३६ अनुसार कारबाही भइरहेको जानकारी दिए।

ट्राफिक प्रहरीका अनुसार यो नयाँ नियम नभई लामो समयदेखि विद्यमान कानुनको कार्यान्वयन मात्र हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, सर्वोच्च अदालतको आदेश तथा बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनले अनुमतिबिना रङ्गीन वा कालो सिसा प्रयोग गर्न निषेध गरेको छ।

विशेष कारणले रङ्गीन वा कालो सिसा प्रयोग गर्नुपर्ने अवस्थामा भने यातायात व्यवस्था विभागबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था छ।

कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारी साधनलाई कसुरको प्रकृति हेरी ७ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।

एसएसपी काफ्लेले अभियानको उद्देश्य सडक सुरक्षा सुदृढ गर्नु, कालो सिसाको आडमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नु तथा सवारी अनुशासन कायम गर्नु रहेको बताए। उनले धेरै सवारीधनीले स्वेच्छाले कालो सिसा हटाउन थालेको भन्दै त्यसलाई सकारात्मक कदमको रूपमा लिएका छन्।