भूमि मन्त्री रावलले सार्वजनिक गरिन् १०० दिनका ४८ उपलब्धि


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयको १०० दिनको कार्यप्रगति सार्वजनिक गरेकी छन्।

मन्त्रालयले सरकार गठनपछि सम्पन्न भएका ४८ वटा प्रमुख कामको सूची सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको छ।

यस्तै, रिक्त वा निमित्तको भरमा सञ्चालन भइरहेका २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रालयले जनाएको छ। सहकारी क्षेत्रतर्फ १ हजार ७५४ जना साना बचतकर्तालाई २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको तथा १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० रुपैयाँ ऋण असुली गरिएको उल्लेख छ।

मन्त्रालयले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको, बालुवाटारस्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारको नाममा ल्याएको तथा मालपोत र नापी कार्यालयमा सेवाग्राहीबाहेक अनधिकृत व्यक्तिको प्रवेशमा रोक लगाएको जनाएको छ।

त्यसैगरी बागमती, गण्डकी र मधेस प्रदेशमा निजामती अस्पतालको सेवा विस्तार गरिएको, सिंहदरबार परिसरबाट निजामती अस्पतालको सेवा एकाइ स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको लगायतका कार्यलाई पनि १०० दिनका प्रमुख उपलब्धिका रूपमा समेटिएको छ।