एनपीएल तेस्रो सिजनको खेलाडी अक्सन, १५५ खेलाडी प्रतिस्पर्धामा


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि खेलाडी अक्सन आज अपराह्न ३:४५ बजेदेखि हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अक्सनको प्रत्यक्ष प्रसारण एनपीएलको आधिकारिक युट्युब च्यानलमार्फत गरिनेछ।

यसपटकको अक्सनमा तीन क्याटोगरीमा गरी १५५ खेलाडी सहभागी छन्। क्याटोगरी ‘ए’ मा अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दाससहित ५ खेलाडी रहेका छन्। क्याटोगरी ‘बी’ मा २७ जना र क्याटोगरी ‘सी’ मा १२३ जना खेलाडी सूचीकृत छन्।

क्यानका अनुसार प्रत्येक फ्रेन्चाइजीले अक्सनमार्फत दुई नेपाली खेलाडी थप्नेछन्। मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसमेत समावेश हुँदा प्रत्येक टोलीमा कुल १४ खेलाडी रहनेछन्। अक्सनबाट आठ फ्रेन्चाइजीले जम्मा ५२ खेलाडी अनुबन्ध गर्नेछन्।

अक्सनअघि टोलीहरूको बाँकी बजेटअनुसार जनकपुर बोल्ट्ससँग सबैभन्दा धेरै ६६ लाख २५ हजार रुपैयाँ रहेको छ। त्यसपछि विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, चितवन राइनोजसँग ४२ लाख, कर्णाली याक्ससँग ४२ लाख तथा काठमाडौँ गोर्खाजसँग ३४ लाख रुपैयाँ बजेट उपलब्ध रहेको छ।